किसानी माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन, प्राविधिक शिक्षामा जोड दिनुपर्छ : पूर्व मुख्यमन्त्री गुरुङ (तस्बिरहरु)

प्रताप बानियाँ
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्यालय भवनको एकसाथ उद्घाटन गरिएको हो ।

नवनिर्मित विद्यालय भवनको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुन, नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापा र लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले उद्घाटन गर्नुभयो । लायन्स क्लबद्वारा निर्माण गरिएको ८ कोठे विद्यालय भवनमा फर्निचरसहित करिब दुई करोड रुपैयाँ लगानी भएको छ ।

लायन्स क्लबले यसअघि बेनी नगरपालिका–९, तोरीपानीको गलेश्वर माविमा पनि ८ कोठे भवन बनाइदिएको थियो । उद्घाटन भएका चारवटा भवनमा कुल २८ वटा कोठाहरु रहेकोमा प्रति कोठा ४० जना विद्यार्थीको क्षमता रहेको छ । यसैगरी चारकोठे विद्यालय भवन निर्माणका लागि ७४ लाख र अको चारकोठे भवन निर्माणमा ४९ लाख तथा १२ कोठे भवन निर्माण गर्न एक करोड रुपैयाँभन्दा बढी लगानी भएको विद्यालयले जनाएको छ ।

प्राविधिक र साधारणतर्फ गरेर कुल ५ सय ६६ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेको किसानी माविमा दरबन्दीका १२ जना र राहततर्फ २ जनासहित २९ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । वि.सं. २०२१ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि १२ सम्म साधारण तथा प्राविधिक धारतर्फ तीनवर्षे डिप्लोमा तहसम्म बाली एवं पशु विज्ञान र १८ महिने कृषि जेटिए विषयमा अध्ययन/अध्यापन हुँदै आएको छ ।

नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले देशमा प्राविधिक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले अहिले देशमा भैरहेको शिक्षा एकसय पूर्णाङ्कमा ४० नम्बर ल्याएपछि पास हुने बताउँदै बाँकी ६० नम्बर नजाने पनि हुने यो कस्तो खालको शिक्षा हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सयमा सय अङ्क नै ल्याउनुपर्ने र सोहीअनुसार पाठ्यक्रम निर्माण गरी शिक्षा दिनुपर्ने भन्दै प्राविधिक शिक्षालाई दिनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा दिनलाई प्राविधिक शिक्षालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्थापन हुनुपर्ने बताउँदै यसअघि आफ्नो कार्यकालमा सुरु गरेको नमुना आवासीय विद्यालय सञ्चालन, एक घर एक धारा, उज्यालो प्रदेश अभियान, पालिकाको केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि विनियोजन गरेको योजना बजेट अहिलेको गठबन्धन सरकारले कटौती गरेको आरोप लगाउनुभयो ।

सोही अवसरमा नेपाल शिक्षक महासंघका पूर्व अध्यक्ष बाबुराम थापाले विद्यार्थीलाई पढाउने नभई सिकाउने बताउँदै विज्ञान र प्रविधिको प्रयोग गर्न मानव शक्ति हुनुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले शैक्षिक गुणस्तर वृद्धि र भौतिक संरचना निर्माणमा पालिकाले प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रमको अवसरमा विद्यालय भवन निर्माणमा सहयोग पु¥याउने जयराम सुवेदी, टेकप्रसाद लामिछाने, पलबिर जुग्जाली, दल शेरपुञ्जा, छकप्रसाद पाईजा र प्रेमप्रसाद जुग्जालीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक सुविन जुग्जाली र मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुको विशेष आतिथ्य रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलीप्रसाद जुग्जालीको अध्यक्षता, प्रधानाध्यापक जंगबहादुर गर्बुजाको सञ्चालन र प्राविधिक शिक्षालय संयोजक करण कँडेलको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार