
काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताउनुभएको हो । उहाँले एमालेले अव पनि संसद बैठक सूचारु नगरे जनता आफैले दण्डित गर्ने दावी समेत गर्नुभयो । अध्यक्ष भट्टराईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क समेत गर्नुभयो ।
गतवर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यही बाटोमा छन् भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहनु रहेको उहाँको भनाइ थियो । अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यही भित्र तर्क वितर्क गर्ने रहेको जिकिर गर्नुभयो । अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो । रातोपाटीबाट