काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेताहरूले आइतबारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले धर्ना दिनेहरुसँग भेट्न चाहनुभएको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्ष तथा पर्यवेक्षक नियुक्त गर्दा जथाभाबी गरेको आरोप आन्दोलनकारी छ । धर्ना बस्न जनकपुर काठमाडौँ आएका लोसपाका नेता सञ्जय सिंहले पार्टीका अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेशहरूमा मनोनयन गर्दा पार्टीको विधि र प्रक्रिया अनुसार नगरेको, एकैजनालाई धेरै पद दिएको विरुद्ध आफूहरू संघर्ष गर्न काठमाडौँ आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोदेखि हामी पार्टी कार्यालयमा धर्ना बसिरहेका छौँ तर पार्टीका अध्यक्ष महन्थ ठाकुरले हामीसँग भेट्ने समय मिलाउनु भएको छैन ।’ धर्ना बस्नुअघि अध्यक्ष ठाकुरसँग सम्पर्क गरेको तर उहाँले भेट्ने नभेट्ने केही टुंगो नभनेको बताउँदै नेता सिंहले आफूहरूको माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने बताउनुभयो ।
अध्यक्ष ठाकुरले नै जिल्ला जिल्लामा मनोनयन गरेको कारण उहाँसँग नै हामीले भेट्न चाहेका हौँ यद्यपि पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारीसँग पनि हामीले भेट्ने समय मागेका छौँ, उहाँहरूले आज वा भोलि भेट्ने भन्नुभएको छ ।’
अध्यक्ष ठाकुरले गरेको मनोनयन प्रति असन्तुष्ट हुँदै पार्टीका वरिष्ठ नेता महतोले यो आन्दोलन गर्न लगाएको महन्थ ठाकुर पक्षका नेताहरूको आरोप छ । यद्यपि जनकपुरबाट आन्दोलनमा आएकी लोसपाका नेतृ विभा ठाकुरले आफूहरूले कुनै व्यक्तिको पक्ष वा विपक्षमा आन्दोलन नगरेको बरु पार्टीको सिस्टम सुधार्न, विधि र विधान अनुसार चलाउनका लागि संघर्ष सुरु गरेको दाबी गरिन् । रातोपाटीबाट






















