निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताउनुभएको छ ।

सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताउनुभयो ।

सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उनले बताउनुभयो । राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भिर गल्ती भएको भन्दै उहाँले अपराधीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । त्यसले अहिलेसम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म ।

यो घटनाको न्यायपूर्ण छानविन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरु छन्, तिनीहरुले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्यो । ठुलै पहुँचवाला मान्छेहरु छन्, तिनीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भिर गल्ती हुन्छ ।’

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् ।

महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताउनुभयो । उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताउनुभयो । धर्नारत महिला अधिकारकर्मीहरुले माग पुरा गर्न सरकार गम्भिर हुनुपर्ने बताउनुभएको छ । माग पुरा नहुञ्जेल धर्नाको कार्यक्रम जारी रहने उनीहरुको भनाई छ । रातोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार