मेरो वरीयता कार्यकर्ताले दिएको भोटले नै कायम गरेको छ : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको बताउनुभएको छ । सभापति पदमा शेरबहादुर देउवासँग कोइराला पराजित हसनसभएको थियो । देउवाले २७३३ मत ल्याएर सभापति जित्दा अर्का उम्मेदवार कोइरालाले १८५५ मत ल्याउनुभएको थियो ।

सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइराला मात्रै उम्मेदवार थिए।सभापतिमा पराजित कोइरालालाई कांग्रेसले २० औं वरीयतामा राखेको छ। यसैकारण पनि पहिलो केन्द्रीय समिति बैठकमा शेखर उपस्थित हुनुन्थेन। सभापतिसहित १३ पदाधिकारी र अहिलेको केन्द्रीय समितिमा जितेका पूर्वपदाधिकारी पछि मात्रै शेखरको नाम राखिएको छ।अझै पूर्वपदाधिकारीलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा शेखरको वरीयता झन् तल पुग्ने सम्भावना छ । शेखरले वरीयताबारे गम्भीर आपत्ति भने जनाउनुभएको छैन्।

उहाँले आफ्नो मर्यादाक्रम कार्यकर्ताहरूले माया गरेर दिएको भोटले कायम भइसकेको उल्लेख गर्नुभएको छ । सभापति देउवापछि सभापतिमा उहाँकै मत आएको थियो। पहिलो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरूङ पनि सभापति उम्मेदवार हुनुहुन्थ्यो। त्यसबेला देउवा र कोइरालाले धेरै मत ल्याएपछि दुई जनाबीच दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणमा निधि, सिंह र गुरूङ सभापति देउवासँग उभिएका थिए कोइराला एक्लै सभापतिमा भिड्नुभयो।

शेखरले पहिलोमा भन्दा दोस्रो चरणको मतदानमा १५३ मत बढाउनुभएको थियो । सभापति भने देउवाले नै जित्नुभएको थियो। पुस १० मा पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय समिति बैठकमा कोइराला भने उपस्थित हुनुहुन्थेन । उहाँ चितवनमा आयोजित कार्यक्रममा पुग्नुभएको थियो। कांग्रेसभित्र सभापतिमा पराजित भएका नेतालाई कहिले वरिष्ठ नेताको पद दिइएको छ भने कहिले पदाधिकारी र पूर्वपदाधिकारीपछि मात्रै राखिने गरेको छ। वरीयताबारे यही गर्नुपर्छ भन्ने नियम छैन। यो सभापतिमा रहेको अधिकारको विषय हो।

सभापतिमा पराजित शेखर स्वतस् कांग्रेस केन्द्रीय सदस्य छन्। उहाँलाई पहिलो बैठकमा उपस्थित हुन समयमै खबर पनि गरिएको थियो। शेखर पक्षका नेताले उहाँलाई कम्तीमा सभापति देउवा, नेता रामचन्द्र पौडेल पछिको वरीयता दिन माग गरिरहनुभएको छ। तर शेखरले भने यही वरीयता चाहिन्छ भन्ने अडान भने औपचारिक रूपमा राख्नुभएको छैन।

केन्द्रीय समितिको पहिलो बैठक बसेको दुई दिनपछि गृहजिल्ला विराटनगर पुगेका शेखरलाई पत्रकारहरूले पार्टीले राखेको वरीयताबारे प्रश्न गरेका थिए।शेखरले पार्टीले परम्परा पनि पछ्याउनुपर्ने तर्क गर्नुभएको थियो ।सभापति र केन्द्रीय कार्यसमितिले के गर्‍यो त्यो त पद्धतिको कुरा हो। पार्टीभित्र बिपीकै पालादेखिको पद्धति सभापति देउवा र केन्द्रीय समितिले पछ्याएन भने त्यसबारे कार्यकर्ताले बोल्नेछन्,’ कोइरालाले भन्नुभयो।

उहाँले कार्यकर्ताले दिएको भोटले नै आफ्नो वरीयता कायम भएको पनि बताउनुभयो । साथै उहाँले पार्टी र कार्यकर्ताले दिने मर्यादाक्रम स्वीकारेर नै आफू अगाडि बढ्ने बताउनुभएको थियो। सभापतिमा लड्दा कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए। वरीयता क्रम तोक्दा सभापति देउवाले कार्यकर्ताले दिएको उक्त मतको हेक्का नगरेको आलोचना पनि हुने गरेको छ।

साथै पार्टीको १४ औं महाधिवेशनमा पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजाता कोइरालाको भूमिकाबारे पनि शेखर असन्तुष्ट हुनुहुन्छ । उहाँले सभापति पदमा आफू पराजित हुनुको एक कारणका रूपमा परिवारकै सदस्यहरू मिलाएर लैजान नसक्नु रहेको पनि बताउनुभयो। बिपीले मेरो बुवालाई पत्र पठाउँदै सबैलाई मिलाएर राख्नु भन्नुभएको थियो। त्यसको मर्म भाइबहिनीले बुझेनन्,’ शेखरले भन्नुभयो।

शशांक शेखरकै टिमबाट केन्द्रीय सदस्य उठेका थिए, उहाँले धेरै मत ल्याएर जिते पनि। तर शेखरका पक्षमा खुलेर सहयोग भने नगरेको भन्दै शशांकको आलोचना भइरहेको छ। सुजाता भने प्रकाशमान सिंह टिमबाट उपसभापति उम्मेदवार हुनुभएको थियो । उहाँ पराजित हुनुभएको थियो। शेखरलाई महाधिवेशनका बेला आफ्नै परिवार मिलाउन नसकेको भन्दै टिप्पणीसमेत भएको थियो । सेतोपाटीको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार