घरको चार तलाबाट खसेर एक किशोरीको मृत्यु

काठमाडौँ । भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।

उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन्। बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो। उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो।

किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन्। किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो। उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार