मिश्र र लिङ्देनबीच भेटवार्ता

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उहाँकै निवासमा पुग्नुभएको हो ।

सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताउनुभयो । ‘समान विचारधारा भएकाहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार भेटघाट भएको हो’, उहाँले भन्नुभयो ‘छलफलको सुरुवात भएको छ, निकट भविष्यमा पक्कै पनि सकारात्मक दिशातिर हामी पुग्ने आशा गरौँ ।’

स्रोतका अनुसार भेटका क्रममा लिङ्देनले एजेण्डा उस्तै उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गर्नुभएको थियो । अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत हुनुभएको छ । भेटपछि मिश्रले पनि ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद’ भेटेर सामाजिक सञ्जालमा तस्बिर शेयर गर्नुभएको छ । उहाँले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिनुभएको छ ।

‘आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु’, उहाँले भन्नुभएको छ । रवीन्द्र मिश्रले केही महिनाअघि मात्रै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याउनुभएको थियो । त्यसमा उहाँ गणतन्त्र र संघीयता विरुद्ध उभिनुभएको छ भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोक्दै आएको छ । दुबै दल एजेण्डाको हिसाबले एक ठाउँमा रहेका सन्दर्भमा आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार