
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताउनुभएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले परिणाममुखी काम देख्न चाहेको भन्दै त्यसका लागि इमानदारिता र निष्ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताउनुभयो । ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ’ उहाँले भन्नुभयो ।
‘हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ’ उहाँले भन्नुभयो । गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने पनि उहाँको भनाई छ । कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो । नागरिक खबरबाट