पार्टीमा एकता जरुरी छ : प्रधानमन्त्री देउवा

धरान । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताउनुभएको छ । धरान २ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई मंगलबार संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताउनुभएको हो।

उहाँले पार्टीभित्र एकता जरुरी भएकोमा जोडदिदै एकताले पार्टी र सरकार पनि वलियो हुने धारणा राख्नुभयो। ‘पार्टीको भविष्य बनाउन पार्टीमा एकता जरुरी छ, एकताको लागि पार्टीका सबै साथीभाई एक हुनु जरुरी छ,’ सभापति देउवाले भन्नुभयो,‘यसको शुरुवात धरानबाट हुनेछ भन्ने विश्वास लिएको छु।’

धरानमा कांग्रेसले कहिल्यै जित्दैन भन्ने धारणालाई उपनिर्वाचनले गलत सावित गरिसकेको पनि देउवाले बताउनुभयो। उहाँले सबैको सहयोगले पुनः पार्टी सभापति भएको उल्लेख गर्दै आफ्नो अन्तिम कार्यकाल भएको पनि बताउनुभयो। ‘यो मेरो अन्तिम कार्यकाल हो, पार्टीलाई एक बनाएर लैजाने मेरो दायित्व हो, र मेरो स्वार्थ पनि त्यही हो,’देउवाले भन्नुभयो,‘सबैको सहयोग विना पार्टी एक हुन सक्दैन। त्यसकारण देशभरिका पार्टीका साथीहरुलाई एक भएर हिडेमा पार्टी पनि एक हुनसक्छ।’

प्रधानमन्त्री देउवा धरान स्थापना दिवसको अवसरमा आयोजित तीन दिने ुधरान डेु उत्सवको उद्घाटन गर्न जानुभएको हो। पब्लिक हाई स्कुल मैदानमा प्रधानमन्त्री देउवाले धरान डे उद्घाटन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री देउवाले पार्टी कार्यालय र धरान ६ पानवारीस्थित निर्माण भएको फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गर्नुभएको छ भने धरान ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कको पनि अवलोकन गर्नुभएको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार