वर्षमान र जर्नादनजीबीच सहमति नभए महासचिव बन्न प्रस्ताव आएको छ : देव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले वर्षमान पुन र जनार्दन शर्माको महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताउनुभयो ।

उहाँले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभएको हो । नेता गुरुङले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर आइरहेको छ ।

उहाँहरूको दाबेदारी रहेको स्थितिमा अध्यक्ष कमरेडले सहमतिमा लैजान पाए हुन्थ्यो भनेर सहमति जुटाउने अधिकतम प्रयास गरिरहनुभएको छ । उहाँहरू दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कमरेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ ।

अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराईकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । त्यस अवस्थामा ठिक छ तपाईंले चाहनुभएको छ, सहमतिको उम्मेदवार खोज्नुभएको छ भने राम्रो कुरा हो । यो कदमप्रति हाम्रो समर्थन हुन्छ । सहयोग हुन्छ । तोकिएका जिम्मेवारीहरू पूरा गर्न हामी तयार छौँ ।’

आफू नफर्की पदाधिकारी नबनाइयोस् भनेर पुनले आग्रह गरेका कारण पदाधिकारी चयनमा केही ढिलाइ भएको पनि उनले खुलाए । उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा पदाधिकारी गठनको सन्दर्भमा स्थायी समितिकै सदस्य वर्षमानजी उपचारमा नै रहनु भएकोले उहाँले म नफर्कँदा सम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी विरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेट एन्ड सीको रुपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते मिटिङ बस्ने भनिएको छ, त्यसमा टुंगोमा पुग्ला भन्ने लाग्छ ।’

फरक प्रसङ्गमा नेता गुरुङले पार्टी र देशकै अभिभावकको रूपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभयो । उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनुभयो । उहाँले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिनुभयो।

उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने जिकिर गर्नुभयो । नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह पनि गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार