म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम (तस्बिरहरु)

बेनी । म्याग्दीमा पत्रकार आचार संहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा बुधबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । युट्युव लगायत सामाजिक संजाललाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

‘दर्ता भएका रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ ’उहाँले भन्नुभयो,‘प्रविधिको विकाससँगै पाएको सुविधालाई धन आर्जन गर्ने मात्र नभइ समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।’

अध्यक्ष बस्नेतले प्रेस र राज्यविच विच सौहार्दपुर्ण सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । आचार संहिता पालना नगर्दा पत्रकार माथि प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो । कुनै सरकार निकाय ,व्यक्ती तथा संस्थाबाट पत्रकार र सञ्चार माध्यम माथि अनावश्यक दवाब र हस्तक्षेप भएमा प्रेस काउन्सिलले हस्तक्षेप गर्ने उहाँले बताउनुभयो । अनलाइन संचार माध्यम बर्गिकरणको लागि सरकारसंग प्रेस काउन्सिलले समन्वय गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउँदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोक कल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गर्नुभएको थियो । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।

काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महासङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तथ्यपरक र विश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोक कल्याणकारी विज्ञापन प्रकाशनबापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दीपक पौडेलले जिल्लाका पत्रकार आचारसंहिताको विषयमा संवेदनशील रहेको बताउनुभयो । कार्यक्रममा ४० सञ्चारकर्मीले भाग लिएका महासङ्घ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार