
मोरङ । अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको मुल गेटमा तोडफोडसमेत गरे ।विद्यार्थीहरुले गेट फोडेर नोबेलको चौथो तलामा रहेको प्रशासन कक्षमा तालासमेत लगाएका छन् ।
नोबेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् । विद्यार्थीहरुले नोबेल मेडिकल कलेजका सञ्चालकविरुद्ध नाराबाजी जारी राखेका छन् । १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क माग गरेको हो । अतिरिक्त शुल्क नदिएका विद्यार्थीलाई अध्ययनमा रोक लगाइएको आन्दोलित विद्यार्थीहरुको भनाइ छ । रातोपाटीबाट