एकीकृत समाजवादीले विकास योजनाको अनुगमन गर्ने

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ।

एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि विवरण संकलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको पार्टीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिनुभयो।‘अनुगमनमा पाइएका विवरण माघ–१५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ’, उहाँले भन्नुभयो, ‘योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ।’

अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी सङ्ख्या, योजना दाता वा सम्बन्धित निकायको नाम लगायतका विवरण सङ्कलन गर्ने जनाएको छ । टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजना छनोट गरी वडासमितिमा पेश गर्ने, टोल समितिबाट पेश भएका योजना वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेश गर्नेरगराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो।

टोल वा बस्तीमा आकस्मिकरुपमा भइपरी आउने समस्या वा योजनाको हकमा परिस्थितिजन्य रूपमा सिधै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने एकीकृत समाजवादीले जनाएको छ। पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार