काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले काठमाडौँ सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताउनुभएको छ । बिहीबार लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै उहाँले विकास काठमाडौँ केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभइ दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठुला सहरको निर्माण गर्नुपर्ने औँल्याउनुभयो । ‘काठमाडौँ सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्‍यो भने त्यहाँ सहर बन्दो रहेछ,’ उहाँले भन्नुभयो, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्ने छ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठुला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठुला आयोजनाहरू निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भन्नुभयो ।

त्यस्तै, जलविद्युत क्षेत्रमा तीन वटा ठुला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभयो । ‘बुढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठुला आयोजनामा तपाईंहरूले ध्यान दिनुहोस्’, उहाँले भन्नुभयो । त्यस्तै उहाँले काठमाडौँ–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

यसका लागि अध्ययन गर्न समेत उहाँले निर्देशन दिनुभयो । ‘काठमाडौँ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक वा लिक (रेलको) बनाए पनि भयो । तर, द्रूत गतिमा पुग्ने हुनुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘यो योजना तपाईंहरूको विशिष्टिकृत योजनामा हुनुपर्‍यो ।’बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार