
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्थापन गर्ने, नयाँ सरकार गठन गर्ने जिम्मेवारी संसदको भएपनि आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको बताउनुभएको छ । नेकपा एमालेको जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले विरुद्ध एक प्रकारको घेराबन्दी भएको बताउनुभयो ।
उहाँले नेकपा एमालेबाट देश र जनताले धेरै ठुलो अपेक्षा गरेको पनि बताउनुभयो । एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने उहाँले प्रस्ट पार्नुभयो । उहाँले अहिलेको सरकार सत्तामा बस्न उपयुक्त नभएको पनि दाबी गर्नुभयो। जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रबाट सरकारमा सामेल भएको उहाँको भनाइ थियो ।
संसदले सरकार परिवर्तन भएकै थाहा पाएन,’ उहाँले भन्नुभयो, ‘संसदले एकैचोटी विश्वासको मत लिने बेलामा मात्र सरकार परिवर्तन भएको थाहा पायो ।’ जबकि, प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त भएको संसदले थाहा पाउनुपर्ने उहाँको भनाइ थियो । ‘एकैचोटी विश्वासको मत लिने ड्रामा भयो,’ उहाँले भन्नुभयो, ‘असंवैधानिक क्रियाकलापबाट गरिएको एउटा ड्रामा थियो त्यो ।’ रातोपाटीबाट