पार्टीले मन्त्रीको नाम सिफारिस नगर्दा मन्त्रीमण्डल विस्तार हुन सकेन : मुख्यमन्त्री शाही

सल्यान । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूले नाम सिफारिस गरेर नपठाउँदा कर्णालीमा मन्त्रीमण्डल विस्तार हुन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सल्यान आएका मुख्यमन्त्री शाहीले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनुभएको हो ।

नेकपा (माओवादी केन्द्र)का धेरै नेतामा कोरोना संक्रमण देखिएपछि बैठक बस्न नसक्दा मन्त्रीमण्डल विस्तारलाई अगाडि बढाउन नसकिएको उहाँले जानकारी गराउनुभयो । पार्टीले मन्त्रीको नाम सिफारिस गरेर पठाए आफू जतिबेला पनि मन्त्रीमण्डल विस्तारका लागि तयार रहेको उहाँले दाबी गर्नुभयो ।अहिले सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (समाजवादी) छन् । सुरुमा कांग्रेसले केन्द्रीय अधिवेशन गर्‍योस म आफैँ उम्मेदवार थिएँ, त्यसमै व्यस्त भइयो । त्यसपछि माओवादीले गर्‍यो ।

मन्त्रीको नामसमेत सिफारिस गर्न सकेन । त्यसपछि नेकपा समाजवादी पनि अहिले अधिवेशनकै काममा व्यस्त छ‚’ उहाँले भन्नुभयो‚ ‘पार्टीले मन्त्रीको नाम सिफारिस गरेर पठाए तुरुन्तै मन्त्रीमण्डल गठन हुन्छ ।’उहाँले पत्रकार भेटघाटको क्रममा आफू मुख्यमन्त्री भएको दुई महिना नौ दिन बितिसक्दा तीन जनामात्र मन्त्री रहे पनि कामकाजमा भने खासै समस्या नभएको बताउनुभयो । उहाँले मन्त्री नभएका मन्त्रालयमा कहिलेकाहीँ आफैँ गएर हेर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो‚ ‘हुन त मुख्यमन्त्री भइसकेपछि सबै मन्त्रालयको हेरफेर गर्ने मेरो अधिकार र दायित्व हो । त्यहि भएर मन्त्री नभएका मन्त्रालयमा गएर हेरफेर गर्छु ।’मन्त्रीमण्डल विस्तार समयमै नभएपनि मन्त्रालयबाट हुने काम भइरहेको र मन्त्रीमण्डल विस्तार नहुँदा तलब भत्तामा जाने करोडभन्दा बढी रकम बचत भएको उहाँले जानकारी दिनुभयो । पार्टीगत विवादका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको भन्दै पत्रकारले सोधेको प्रश्नमा उहाँले विवाद नभएको दाबी गर्नुभयो ।

उहाँले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भए पनि कर्णालीको विकास बाटो, बिजुली, विचार, वन, व्यवस्थापन र बजारमा केन्द्रित रहेको उल्लेख गर्नुभयो। बाटो नै विकासको मूल आधार भएकाले पहिलो प्राथमिकतामा बाटो राखिएको उहाँले जानकारी दिनुभयो । ‘कर्णाली प्रदेशभरि अहिले १० प्रतिशतले मात्र बिजुली बाल्न पाएका छन् । त्यसले गर्दा उज्यालो कर्णालीका लागि बिजुलीलाई दोस्रोमा राखिएको हो‚’ उहाँले भन्नुभयो।

उहाँले संघीय सरकारले हेर्दै आएको राप्ती लोकमार्ग र सल्यानबाट कर्णालीको राजधानी सुर्खेत जोड्ने सडकको विषयमा समेत चासो देखाउनुभएको थियो । सल्यान खाद्यबाली उत्पादनको भण्डार रहेको र यहाँ उत्पादन हुने अन्नले जिल्लाबासी आत्मनिर्भर भएकाले सल्यानलाई खाद्यान्न उत्पादनमा विशेष जोड दिने र सल्यानमा उत्पादन हुने खाद्यान्न कर्णालीका अन्य जिल्लामा निर्यात गर्ने व्यवस्था मिलाउने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार