हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताउनुभएको छ । सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रुपमा लिनुपर्ने बताउनुभएको हो ।

उहाँले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताउनुभयो । मन्त्री आलेले नेपालीहरुले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने बताउनुभयो ।“नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले देशमा अन्याय हुन नदिनु, ठुलो न्याय निसाफ हेर्नु,

न्याय बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धन जिउ हरि लिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक छन् । पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उहाँलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन,” उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार