भ्रष्टाचार नियन्त्रण सम्बन्धी म्याग्दीमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम,सबैको प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन्छः अख्तियार आयुक्त सिलवाल

म्याग्दी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आज (सोमबार) म्याग्दीको बेनीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै भ्रष्टाचार नियन्त्रणको प्रयास गर्नेभन्दा पनि सबै क्षेत्रबाट प्रयास गरेमा मात्रै भ्रष्टाचार नियन्त्रण हने बताउँदै आयुक्त सिलवालले भ्रष्टाचार नियन्त्रणको एउटा पाटो अख्तियार भए पनि सबैले साथ दिएमा मात्रै सफल हुने बताउनुभयो । उहाँले संविधानले तोकेको जिम्मेवारीअनुसार सबैले विधि र प्रक्रियाको पालना गरेर काम, कारवाही गर्नुपर्ने बताउँदै अख्तियारले अनुसन्धानको दायरालाई फराकिलो र तथ्यपरक बनाउँदै लगेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले भ्रष्टाचार निराकरण गर्नेतर्फ लैजानुपर्नेमा जोड दिँदै व्यवहारि पाटो र कानुनी पाटोमा हुने फरकले गर्दा पनि भ्रष्टाचार बढ्ने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारको निर्मुल गरेर सदाचारयुक्त समाजको निर्माण गर्नुपर्ने बताउँदै कतिपय कानुनहरु व्यवहारिक नभएकाले कार्यान्वयनको सवालमा समस्या हुने गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरु थमसरा पुन, सन्जु बरुवाल, रेशम छन्त्याल, खरमाया बिटालु, गोरखबहादुर जिसी, प्रकाश पौडेल, दीपक पौडेल, बलादेवी राई र सम्मरबहादुर थापाले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुतीको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालय प्रमुख कोषहरि निरौलाले गण्डकी प्रदेशभित्र गएको आर्थिक वर्षमा ४ सय २६ र चालु आर्थिक वर्षमा २ सय २२ वटा उजुरीहरु परेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाबाट गत आवमा १९ र चालु वर्षमा हालसम्म ११ सहित कुल ३० वटा उजुरी परेकोमा १७ वटाको फछ्यौट भैसकेको र १३ उजुरी बाँकी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका सहसचिव राजेन्द्रकुमार केसीले प्रस्तुतीकरण गर्नुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी तथा उपसचिव मेघनाथ रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दीको स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु र पत्रकारको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार