बगुवाखोलामा मापदण्ड मिचेर नदीको चरम दोहन

साधन राम्जाली
म्याग्दी,२७ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ स्थित बगुवाखोलामा तोकिएको मापदण्ड मिचेर नदीको चरम दोहन भइरहेको छ । म्याग्दी नदीमा मापदण्ड विपरित ढुङ्गा, बालुवा, गिटी निकाल्दा नदीको सतह गहिरिएको छ । डोजर, स्काभेटर प्रयोग गरेर नदीको स्वरुप परिवर्तन हुने गरी म्याग्दी नदीको किनारबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् भइरहेको हो । नदीजन्य बस्तुको उत्खनन् गर्ने जिम्मा लिएका ब्यवसायीहरुले सम्झौता बिपरीत ठुला खालका मसीन प्रयोग गरेर उत्खनन् गरिरहेका छन् । डोजर र स्काभेटर लगाएर, खोलाको धार परिवर्तन गराई ढुङ्गा गिट्टी बालुवाको उत्खनन् गर्दा तटीय क्षेत्रमा कटानको जोखिम बढ्नुका साथै जलचरको बासस्थान र वातावरणमा असर परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

सरकारी निकाय र व्यवसायीको मिलेमतोमा नदीजन्य बस्तुको अव्यवस्थित रुपमा उत्खनन् हुने गरेको सर्वसाधारणको गुनासो छ । ‘दिनहुँ डोजर ,स्काभेटर र ट्रिपर प्रयोग गरेर नदीको चरम दोहन भइरहेको छ,’ नाम नबताउने शर्तमा एक जना स्थानीयले भन्नुभयो ,‘ठेकेदार कम्पनीले नदीमा डोजर , स्काभेटर र ट्रिपर नै प्रयोग गरेर गिटी ,बालुवा निकासी गरे पनि सम्बन्धीत निकाय भने मौन जस्तै देखिएका छन् ।’ स्थानीयवासीले स्काभेटर र ट्रिपर प्रयोग गरेर नदीबाट ढुंगा, बालुवा र गिट्टी उत्खनन गर्न रोक लगाइनुपर्ने माग गर्दै आएका छन् तर सम्बद्ध निकायले चासो दिएकाे छैन् ।

बेनी नगरपालिका र ठेकेदार कम्पनी बागलुङको जुम्ली निर्माण सेवा प्रा.लि. बिच १४ पुषमा भएको सम्झौतामा नगरपालिकाको प्रारम्भीक वातावरणिय परिक्षण प्रतिवेदन (आइईई)मा व्यवस्था भए बमोजिमको उपकरण प्रयोग गरेर मात्रै ढुङ्गा ,गिटी ,बालुवा झिक्न मिल्ने बेनी नगरपालिकाका सुचना अधिकारी युवराज थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार,ठेकेदार कम्पनीले म्याग्दी नदी किनारको बगरमा हाते औजार उपकरण प्रयोग गरेर मात्र नदीजन्य पदार्थ उत्खनन गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले ४४ लाख रुपैयाँमा म्याग्दी नदी किनारको बगर क्षेत्रका विभिन्न ठाउँमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ ।

नगरपालिका संगको सम्झौता अनुसार ठेकेदार कम्पनीले नगरपालिका वडा नम्बर ७ को अग्नीखेत बगर ,वडा नम्बर . ६ को डम्मरा ,वडा नम्बर ६ को जोगिगाडे बगर ,वडा नम्बर ६ कै चुत्रेनी बगर तल्लो ,सोही वडाको चुत्रेनी बगर माथिल्लो ,वडा नम्बर ५ को बगुवा खोला ,सोही वडाको सजेनी बगर ,वडा नम्बर ३ को दुधेखोला कोप्रे बगर र वडा नम्बर २ को घुमाउने ताल बगरमा नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । ठुला डोजर प्रयोग नगरी ९० सेन्टिमिटर भन्दा बढी गहिरो खन्न नपाइने मापदण्ड उल्लंघन गर्दै स्काभेटरको प्रयोग गरी जथाभावी उत्खनन गरिएको छ । नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदार निराजन खतिवडालाई पटक–पटक फोन गर्दा सम्पर्कमा आउन चाहनुभएन ।

नदीबाट बालुवा ,गिटी उत्खनन गर्दा ठृला स्काभेटर प्रयोग गर्न नपाउने स्पष्ट व्यस्था छ ।तर ठेकेदार कम्पनीले भने मानेका छैनन्  । नगरपालिकाले लाखौंको नदी बेच्ने र अनुगमन पनि नगर्ने प्रवृत्तिले नदी दोहनमा विकृति बढेको हो । ठेक्का लगाइसकेपछि समय–समयमा अनुगमर्ने गर्ने जिम्मा भए पनि जिल्ला अनुगमन समिति म्याग्दी भने बेखबर जस्तै बनेको छ ।

जिल्ला अनुगमन समितिका अध्यक्ष समेत रहनुभएका  जिसस म्याग्दीका  प्रमुख  देवेन्द्र बहादुर केसीले साेमबार आयोजित एक कार्यक्रममा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन रोक्न अप्थ्यारो भएको बताउनुभयो। ‘नदीजन्य पदार्थ विकास निर्माणका लागि नभई नहुने श्रोत पनि हो ’,उहाँले भन्नुभयो ,‘ पालिका मार्फत नदीजन्य पदार्थ उत्खनन गर्दा राष्ट्रिय गौरवका आयोजना निर्माणले गति लिएको छ । त्यसैले कानुन सम्मत अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न चुनौति छ ।’ मापदण्डमा पुलको ५ सय मिटर वरिपरि, रातको समयमा, डेढ मिटरभन्दा गहिरो पारेर नदी उत्खनन गर्न नपाइने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार