नाकामा खोप लगाउन आनाकानी

धनगढी । कोरोना संक्रमितको संख्या दैनिक दोब्बरभन्दा बढी भइरहेको सुदूरपश्चिममा भारतबाट भित्रिनेहरूले कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरिरहेका छन् ।गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आउनेले खोप लगाउन आलटाल गर्छन् । ‘खोप नलगाएकालाई आग्रह गर्ने गरेका छौं तर धेरैले पछि लगाउँछु भनेर टार्नुहुन्छ,’ इन्चार्ज साउदले भन्नुभयो, ‘जबर्जस्ती गर्ने कुरा पनि भएन ।

कतिपय त लाइनबाटै फुत्केर निस्कने गरेका छन् ।’गौरीफन्टाबाट दैनिक सात सयदेखि एक हजारको संख्यामा स्वदेश फर्किरहेका छन् । तीमध्ये दैनिक सरदर डेढ सय हाराहारीले मात्र खोप लगाउने गरेको उहाँले बताउनुभयो । ‘लगभग सबैको एन्टिजेन परीक्षण गर्ने प्रयास गरिरहेका हुन्छौं,’ उहाँले भन्नुभयो, ‘कतिपय परीक्षण गर्न पनि मान्नुहुन्न ।’ सुदूरपश्चिममा कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र खक्रौला नाकामा खोप लगाउन सुरु गरिएको छ । दुई महिनादेखि नाकामै भेरोसेल र अस्ट्राजेनेका खोप उपलब्ध छ ।

बैतडीको झुलाघाट नाकाबाट भित्रिनेलाई जिल्ला अस्पताल पठाएर खोप दिने गरिएको छ ।बाजुराको बुढीगंगा नगरपालिका–९ खारेखेतका अजित लुहार मंगलबार परिवारसहित घर फर्किए । भारतको बैंग्लोरमा काम गर्ने उहाँ संक्रमण बढेपछि फर्किनुभएको हो । ‘कोरोना बढेपछि काम पाउन पनि गाह्रो हुन थाल्यो,’ उहाँले भन्नुभयो, ‘सातामा दुईरतीन दिन लकडाउन हुने भएकाले खाली बस्नुपर्छ ।’

परिवारलाई समेत जोखिम हुने भएकाले श्रीमती र छोरालाई लिएर आएको उहाँले बताउनुभयो । उनी ५ महिनाअघि परिवारसहित बैंग्लोर पुगेका थिए । यतिबेला दैनिक ७र८ सयको संख्यामा घर फर्किरहेका छन् । मंगलबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा ७१ जनामा संक्रमण पुष्टि भएको छ । नाकामै परीक्षणसँगै खोप पनि लगाउने गरिएको छ । उनीहरूलाई जान्सन खोप लगाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार