ललिता निवास जग्गा प्रकरण : जमानीमा छुटे सुवेदी दम्पती

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई रिहा गरिएको छ । पुस ७ मा पक्राउ परेका सुवेदी दम्पतीलाई सरकारी वकिलको सहमति लिएर हाजिर जमानीमा रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) श्यामकुमार महतोले बताउनुभयो ।

सिआइबीले लिखत किर्ते कसुरमा मुद्दा चलाउन रायसहितको प्रतिवेदन पठाएकोमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवेदन सिआइबीलाई नै फिर्ता पठाएको थियो ।जिल्ला सरकारी वकिल कार्यालयले सो कसुर ०६९ भन्दा पहिलेको भएकाले मुलुकी ऐनअनुसार अनुसन्धान हुने भन्दै हदम्याद नसकिने निष्कर्ष निकालेको छ ।

सो निष्कर्षका आधारमा तत्काल मुद्दा नचल्ने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले थप अनुसन्धानका गर्न बुँदागत निर्देशनसहित अनुसन्धान प्रतिवेदन फिर्ता गरेका थियो ।सरकारी कागजात ‘किर्ते’ आरोपी सुवेदी दम्पती जग्गा हिनामिना गर्ने मुख्य योजनाकार हुन् । बालुवाटारको जग्गा हिनामिना सम्बन्धमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिले जग्गा हिनामिनाबारे केन्द्रीय अनुसन्धान ब्यूरोलाई विस्तृत अनुसन्धान गर्न दिनुपर्ने सुझाव दिएपछि गृहमन्त्रालयले ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । सुवेदी दम्पती काठमाडौं महानगरपालिका–१३ स्थित ताहाचलका हुन् । सरकारको नाममा आएको जग्गा सुवेदी दम्पतीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर कागजात किर्ते गरेर आफ्नो नाममा लिएका थिए । उनीहरुले तत्कालीन मन्त्री र प्रधानमन्त्रीहरूलाई समेत प्रयोग गरेर सो जग्गा आफ्नो नाममा ल्याएर बेचेको आरोप छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार