एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

धनुषा । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सबै प्रतिवेदन संशोधनसहित पारित समेत भएको थियो ।अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधारमा सर्वसम्मतले पदाधिकारी तथा सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरू समक्ष प्रस्ताव राखेपनि बन्दसत्रमा सोको विरोध भएको थियो ।

नेतृत्व चयनको प्रक्रियामा सहमति नभएपछि बन्द सत्र स्थगित भएको जनाइएको छ । पर्सा जिल्लाबाट ७ सय ८५ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्र हलबाट बाहिर निस्किने क्रममा प्रतिनिधिहरुले अध्यक्ष मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । विरोधपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचना टाँस गरेका थिए । पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जयप्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, विश्वम्भर शर्मा र नवराज शर्मा गरी ६ जना जिल्ला अध्यक्षका आकांक्षी छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार