कोभिड–१९ संकट व्यवस्थापन गर्न सीसीएमसीले स्थानीय तहसँग समन्वय गरेन : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ । काठमाडौँ महानगर वडा–२३मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौँ कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’ उहाँले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराउनुभयो ।

‘मैले गृहमन्त्रीज्युलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले अघिल्लो पटक निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताउनुभयो । ‘हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौँ ।’

शाक्यले नेपाल मात्रै होइन अहिले विश्व नै कोरोनाको तेस्रो लहरले आक्रान्त बनेको स्मरण गराउनुभयो । ‘अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ,’ उहाँले भन्नुभयो , ‘ घना वस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । यो बढी संक्रामक भएकाले छिटै संक्रमण फैलिन सक्ने भएकाले सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार