काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता आनन्द पोख्रेलले सरकारलाई यथाशक्य चाँडो स्थानीय तहको निर्वाचन गर्ने गरि तयारी गर्न आग्रह गर्नुभएको छ । उहाँले निर्वाचनको मुखमा आएर नेपालमा निर्वाचन हुन्छ कि हुँदैन भनेर बहस र छलफल हुनु नै दुःखद भएको उल्लेख गर्नुभएको छ । उहाँले संविधान र कानुनप्रति नै आशङ्का जन्माउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले संविधानले निर्दिष्ट गरेबमोजिम समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,’ऐनले प्रष्ट व्याख्या गरेको छ, स्थानीय तहको निर्वाचन सम्पन्न गरेर जेठ ६ गतेभित्र नै स्थानीय तहका नयाँ प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्नुपर्छ । तर, सरकारले अहिले निर्वाचनको तयारी गरेको छैन, अहिले विभिन्न शङ्का तथा उपशङ्का अनि आशङ्का जन्मिएको छ, यो आशङ्का मेटाउनेगरि पाँच दलीय गठबन्धनले जवाफ दिनुपर्छ ।
खासगरी सरकारको नेतृत्व गरेकोले शेरबहादुर देउवाले जवाफ दिनुपर्छ । म भन्न चाहन्छु तपाई किन निर्वाचनको लागि ढिलासुस्ती गर्दै हुनुहुन्छ ?’ उहाँले प्रधानमन्त्री देउवा चुनावको विपक्षमा नरहेको पनि जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,“शेरबहादुर देउवा चुनावको विपक्षमा हुनुहुन्न । परमादेशको कारण सरकार बनेको छ । अरूको वैशाखी टेकेर सरकार बनेको कारणले होला, उहाँलाई समस्या छ ।’
उहाँले काँग्रेसलगायत पाँच दलीय गठबन्धनमा आबद्ध दलका नेताहरूले अझै पनि एमाले गाउँगाउँमा बलियो रहेको भनेर भनिरहेको उल्लेख गर्दै हार्ने डरले चुनाव नै नगर्ने कुरा गर्न नहुने टिप्पणी गर्नुभयो । उहाँले एमाले राष्ट्रियताको लागि अनि संविधान कार्यान्वयनको लागि लडेको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले एमाले जनताले रुचाएको लोकप्रिय पार्टी भएको पनि सुनाउनुभयो । सरकारले चुनाव नगर्ने छाँटकाँट देखाएको भन्दै चुनाव नगरे आफूहरू सडक संघर्षमा जान बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो । रातोपाटीबाट