राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन घोषणा

काठमाडौं । राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ मा हुँदैछ । उक्त निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन घोषणा गरिएको छ ।

बिहीबार यी दुई दलले जनकपुरमा कार्यक्रम गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । जनकपुरस्थित शुभम् होटलमा यी दुई दलबचीका नेताहरुले गठबन्धन घोषणा गरेका हुन्।

गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठ पनि उपस्थित थिए । त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल र लोसपा सचेतक परमेश्‍वर साहसहित दुवै दलका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरु पनि उपस्थित भएका थिए ।

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए।

त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो। यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्। एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवको उम्मेदवारी कायम भएको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ । यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन् । जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार