मेरो मन्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित थिएन : मन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी मन्त्री रेणु यादवले आफ्नो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाउनुभएको छ । गत माघ ५ गते पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।

उक्त सभामा उहाँले सिके राउतविरूद्ध विवादास्पद अभिव्यक्ति दिनुभएको थियो।जनमत पार्टीका अध्यक्ष सिके राउतविरूद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर हत्याकाण्ड दोहोरिन सक्ने धम्की दिनुभएको थियो । राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई धम्की दिनुभएको थियो।

‘तुफानसँग टकराउनु भयो भने तपाईंको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई नबिर्सनुस्,’ मन्त्री यादवले भन्नुभयो,‘म डाक्टर साबलाई यहीँबाट आग्रह गर्छु । तपाईं पीएचडी डाक्टर हो रिसर्च गर्नुहोस्, चिरफार नगर्नुहोस्। चिरफार गर्नुभयो भने बिरामी मर्नेछन्। फेरि घेराबन्दी गरेर तपाईंलाई मारिदिनेछन्। त्यसैले बस तपाईं रिसर्चमात्रै गर्नुहोस्।’

तर उहाँले आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्ति दिएको बताउनुभएको छ । तर पछिल्लो समय विभिन्न माध्यमहरूले कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ।

‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझ्न आएकोले सो प्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछुु, सोमबार विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ,मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्दछु। साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछु।’उहाँले विवादास्पद अभिव्यक्ति दिएपछि उहाँलाई पदमुक्त गर्न माग उठिरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार