राष्ट्रियसभा निर्वाचन : माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाए

हेटौडा । यतिबेला राष्ट्रियसभाको मतदान चलिरहेको छ । बागमती प्रदेशको मतदान स्थलमा भने लफडा भएको छ । माओवादी प्रदेश सांसदले निर्वाचन अधिकृतको कठालो समातेपछि लफडा भएको हो ।

राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदको निर्वाचनमा मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको हो । उनले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राजन दाहाल सहितको समूहले निर्वाचन अधिकृतको कठालो समातेका हुन् ।

हेटौंडा औद्योगित क्षेत्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । निर्वाचन प्रक्रिया दिउँसो ३ बजेसम्म हुनेछ । ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतिजा सार्वजनिक गर्ने गरी तयारी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा ६ जनाको उम्मेद्वारी छ ।

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीको उम्मेद्वारी रहेको छ । यसैगरी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन् । निर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४७ जनाले मतदान गर्न पाउने छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार