कांग्रेस सम्बद्ध आदिवासी जनजाति संघका अध्यक्ष गुरुङले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उहाँले राजीनामा दिनुभएको हो ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’अघिल्लो सरकारले खारेज गरेको चाडपर्वका विदालाई अहिले कांग्रेस नेतृत्वको सरकारले मौन समर्थन गरेको भन्दै उहाँले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

गुरुङले लेख्नुभएको छ, ‘नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनर्स्थापित नहुँदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन ।’ उहाँले २०७४ फागुन २७ गते संशोधित विधान चार वर्ष पुग्न लाग्दा पनि आजसम्म पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत नगर्दा आदिवासी जनजाति संघको महाधिवेशन गर्न नसकेको गुनासो पनि गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार