म्याग्दीमा ६९औं विश्व कुष्ठरोग दिवस मनाइयो,६जना कुष्ठरोगी थपिए

बेनी । म्याग्दीमा ६९ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आइतबार बेनीमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरी विश्व कुष्ठ रोग तथा उपेक्षित रोग दिवस मनाइएको हो ।कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेको छ । माईकोब्याक्टेरिया लेप्रा नामको किटाणुको संक्रमणबाट यो रोग लाग्ने गर्दछ ।

कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग भएकोेले समयमै उपचार गरेमा निको हुने स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालले बताउनुभयो । यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ । नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ ।

कुष्ठ रोग लागेका विरामीमा शरिरको कुनै पनि भागामा नचिलाउने तथा चेतना नभएका दागहरु देखा पर्ने,शरिरामा गिर्खाहरु देखिने,कानको लोती तथा अनुहारको छाला बाक्लो हुने ,हात खुट्टा झमझमाउने ,हत्केला तथा पैतालामा स्पर्श शक्ति हराउने वा नदुख्ने घाउ हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

स्वास्थ्य कार्यालय प्रमखु लम्सालका अनुसार गत बर्ष १३ जना कुष्ठ रोगी भेटिएकोमा १० जना निको भएका छन् । भने तीन जनाले औषधि सेवन गरीरहेका छन् । यस्तै चालु आर्थिक बर्षमा ६ जना कुष्ठरोगका विरामी थपिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ३ जना ,मालिका गाउँपालिकामा १ जना ,रघुगंगा गाउँपालिकामा १ जना र अन्नपुर्ण गाउँपालिकामा १ जना गरी ६ जना कुष्ठ रोगका विरामी उपचाररत छन् ।

परिवार नियोजन सुपरभाइजर गणेश सुवेदील कुष्ठरोग नियन्त्रणकाे लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कुष्ठरोगका विरामीलाई भेदभाव गर्न नहुने बताउनुभयो । परिवार नियोजन सुपरभाइजर सुवेदीले संचालन गर्नुभएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र उपाध्यक्ष हरिकृष्ण गौतमले बोल्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार