
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थाल्नुभएको छ । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय माग्नुभएको छ ।
स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय माग्नुभएको छ । यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गर्नुभएको छ । यसअघि सभामुखले १६ माघमा प्रतिनिधिसभाको बैठक तोक्नुभएको थियो । प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेत कै कारण उहाँले २६ माघलाई संसद बैठक तोक्नुभएको छ । यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ । नागरिक खबरबाट