नेविसंघको महाधिवेशन गर्न हामीले जोड दिएका छौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायत पार्टीका भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ ।

महामन्त्री शर्माले नेविसंघलगायत भ्रातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताउनुभयो । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग उहाँले यस्तो बताउनुभयो । भ्रातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको उहाँले बताउनुभएको थियो ।

नेविसंघका पूर्वअध्यक्ष समेत रहेका नेता शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरू बलियो हुनुपर्ने बताउनुभयो ।साथै आफूहरू यसबारे सचेत रहेको उहाँको भनाइ थियो । महामन्त्री शर्माले भन्नुभयो, ‘भ्रातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ रु हाम्रो बारेमा के सोचिरहेका छन् ? भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् ।

तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरूको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरू दिएको मान्छे हुँ । अहिले पनि म महामन्त्री भए पनि धेरै बोलेको छैन । बोल्नेवाला पनि छैन । त्यसकारण तपाईँहरूको इस्यूको बारेमा अहिले हामी छलफल गरिराखेका छौं । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यसबारे धेरै बोल्ने पक्षमा नरहेको पटकपटक दोहोर्‍याउनुभएको थियो । उहाँले आफूहरू पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्रका समस्यालाई प्रक्रियामा लगेर समाधान गर्न लागिपरेको बताउनुभयो । त्यस अवसरमा विद्यार्थी नेताहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन भन्दै महामन्त्री शर्मासँग आग्रह गरेका थिए । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार