काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले खर्च गर्न सकिने र नसकिने योजनाहरुको सूची बनाउन निर्देशन दिनुभएको छ । मन्त्री शर्माले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने र नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन निर्देशन समेत दिनुभयो ।
मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष ०७८/०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न निर्देशन दिनुभयो ।
त्यस्तै उहाँले खर्चको अर्धवार्षिक समीक्षापछि आ–आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिनुभयो । पुँजीगत खर्च बढी हुने मन्त्रालयहरूले विशेषगरी अग्रसरता लिएर योजनाहरुलाई अगाडि बढाउनुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । त्यसमा पनि पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने उहाँले बताउनुभयो ।
पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने पनि शर्माले बताउनुभयो । उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताउनुभएको हो । मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । रातोपाटीबाट