
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसिसी सम्झौताबारे नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रम छरेको बताउनुभएको छ ।
गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रहेका पौडेलले आफूले गठबन्धन बैठकमै एमसिसी कार्यान्वयनमा लैजान आग्रह गरेको पनि बताउनुभयो । ‘एमसिसीका बारेमा आमजनतालाई कन्भिन्स गराउनुभयो, अब मलाई कन्भिन्स गराउनुस् । होइन भने कार्यान्वयनमा लैजाऔं’, गण्डकी प्रदेश कांग्रेस पार्टी कार्यालय उद्घाटन गर्दै आज पौडेलले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो ।
ठूला विकास आयोजना ठप्प छन् यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ।’ यद्यपी उहाँले गठबन्धनलाई भने चुनावसम्म लैजानुपर्ने बताउनुभएको थियो । कांग्रेससँग ३० प्रतिशत मात्रै मत रहेको उहाँको भनाई थियो । ७० प्रतिशत मत भएका पार्टी एक ठाउँमा जान सक्ने भएकोले गठबन्धन आवश्यक परेको उहाँको तर्क थियो । नागरिक खबरबाट