स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,’ राउतले भन्नुभयो, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै राउतले भन्नुभयो, ‘हामी निर्वाचनमा जान आतुर छौं ।

निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो। किनकि एकैदिनमा यो समस्या समाधान हुने होइन ।’‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो ।

त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भन्नुभयो, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’ अर्को चरणको किसान आन्दोलन १ फागुनबाट घोषणा हुने जानकारी राउतले दिनुभयो । मौसमको खराबीका कारण हाइबे केन्द्रीत आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै उनले १ फागुनबाट सशक्त कार्यक्रम आउने बताउनुभयो ।

कृषिमन्त्री मधेसकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको राउतले आरोप लगाउनुभयो । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरुको मागमा सरकारले चासो नदिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । किसान आन्दोलनमा उठेका माग दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनुपर्ने भएकाले आफूहरूको माग संघीय सरकारसँग रहेको राउतले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार