सबै नागरिकका लागि छिटै कोरोना बिरुद्धको बुष्टर डोज प्रदान हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ । उहाँले छिट्टै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने सरकारको योजना रहेको पनि बताउनुभयो ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरुको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएउनुभएको हो । विद्यार्थीहरुलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

‘विद्यार्थीलाई खोपको कुरा उठाउनु भयो । हामीले पुस ४ गतेबाट शुरु गरिसकेका छौँ । असजिलो नहोस् भनेर विद्यालयलाई नै खोप केन्द्र बनायौँ । विद्यालय खोपकेन्द्र भएकोले त्यो उमेरसमूहका विद्यार्थीले मात्रै पाउने अरुले नपाउने हो कि भन्ने होइन, त्यो खोप केन्द्र हो’, उहाँले भन्नुभयो, ‘वरिपरि भएका सबै सो उमेर समूहका बालबालिकालाई खोप लगाउनु पर्छ ।

हामीले ५–११ उमेर समूहकालाई पनि खोप ल्याउन प्रयत्न गरिरहेका छौँ फाइजर खोप । यसको उपलब्धतामा कमी हुँदैन । बढी भन्दा बढी विद्यार्थीहरु र त्यो उमेर समूहका नागरिकलाई पनि खोप लगाउनका लागि प्रेरित गर्नुपर्छ । अबको केही दिनभित्रमा नै तेस्रो चरणको रुपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज लगाउँदैछौँ ।’

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरु गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरुलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको बताउनुभयो । उहाँले विपन्न नागरिकहरुको ओपिडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार