काठमाडौँ । अघिल्लो साता मोरिससविरुद्ध घरेलु मैदानमा प्राप्त दुई मैत्रीपूर्ण जितपछि नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले दुई स्थान सुधार गर्दै १६७औँ स्थानमा रहेको हो ।
यसअघिको वरीयतामा नेपाल १६९औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रको वरीयताको भने तेस्रो स्थानमा रहेको छ । भारत पहिलो स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा रहेको छ । भारत १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छ ।
नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भुटान १८५औँ, बंगलादेश १८६औँ, पाकिस्तान १९७औँ र श्रीलंका २०४औँ स्थानमा छन् । विश्व वरीयतामा नम्बर एकमा बेल्जियम यथावत् छ । यस्तै ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्यान्ड्स क्रमशः दोस्रोदेखि दशौँ स्थानसम्म रहेका छन् । नागरिक खबरबाट