‘राप्रपा नेपाल’ ब्युँताउँदै कमल थापा, साइत हेरेर घोषणा गर्ने

काठमाडौं । राप्रपा परित्याग गर्नुभएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताउने तयारी गर्नुभएको छ । गत मंगलबार पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताको प्रक्रियामा रहनुभएका थापाले राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो ।

राप्रपा उच्च स्रोतका अनुसार पार्टीका लागि विभिन्न नामबारे छलफल हुँदा राप्रपा नेपाल नै ब्युँताउन उपयुक्त भएको धेरैको सुझाव आएको थियो । ‘नयाँ नाममा पार्टी दर्ता गर्नेभन्दा पनि हाम्रो पार्टी राप्रपा नेपाल नै हुने भयो,’ ती नेताले भन्नुभयो, ‘त्यो पार्टी पहिले नै दर्ता छ । निर्वाचन आयोग दर्ताकै लागि भनेर हामी जानुपर्ने अवस्था छैन ।’

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि खाली भएको सो पार्टी लाक्पा तामाङको नाममा रहेको छ । यस विषयमा कमल थापाले तामाङसँग छलफल गरिसकेको र अब थापाकै नेतृत्वमा सो पार्टीलाई गति दिने समझदारी पनि भइसकेको ती नेताको भनाइ छ । गणतन्त्र स्थापनापछि तत्कालीन राप्रपा नेपाल हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राजनीतिमा उदाएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डाको बलमा सो पार्टीमा २४ सिट जितेको थियो भने पछि तत्कालीन राप्रपासँग एकता भएपछि नयाँ पार्टी ‘राप्रपा’ बनेको थियो ।

यसअघि कमल थापा समूहभित्र ‘राष्ट्रिय एकता पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने छलफल पनि भएको थियो । तर अहिले राप्रपा नेपाल नै ब्युँताउने तयारी भएपछि अब प्रक्रिया अर्को चरणतर्फ जाने भएको छ । यता थापानिकट नेता उद्धव पौडेलले राष्ट्रिय एकता पार्टीलगायतका विभिन्न नाममा छलफल भइरहेपनि कुन हुने भन्नेबारे अझै पनि अन्तिम रूप दिन बाँकी रहेको जिकिर गर्नुभयो ।

‘राप्रपा नेपाल नै ब्युँताउन लाग्नुभएको हो ? ,’ भन्ने प्रश्नमा चाहिँ उहाँले ३–४ वटा नामबारे छलफल भएकाले ठ्याक्कै भन्न नसक्ने बताउनुभयो । उहाँले आज दिउँसो २ बजेका लागि धुम्बाराहीमा बैठक बोलाइएको र त्यो बैठकले अन्तिम रूप दिएपछि अघि बढिने बताउनुभयो । यता थापानिकट अर्का नेता राजाराम बर्तौलाले साइत हेराएर पार्टी बनाउने बारे अघि बढ्न लगाएको जानकारी दिनुभयो ।

कमल थापाले गत मंगलबार गृह जिल्ला हेटौँडामा पुगेर राप्रपा परित्याग गर्नुभएको थियो । आइतबार मात्रै थापाले नयाँ सिर्जना बाध्यता भएको बताउनुभएको छ । उहाँले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गर्नुभयो । उहाँले औपचारिक रूपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताउनुभएको छ।

म राप्रपाबाट औपचारिक रूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ,’ उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने रु राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन । नयाँ सिर्जना बाध्यता हो।’ गत निर्वाचनमा निर्मल निवासले आफूलाई चुनाव हराएको कमल थापाको बुझाइ छ । त्यो विषयमा पार्टीमा छलफल हुन नसकेपछि थापाले पार्टी नै परित्याग गर्नुभएको हो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार