म्याग्दीका महावीर पुनलाई प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने

पोखरा । म्यागासेस पुरस्कार विजेता म्याग्दीका महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ सम्मान प्रदान गर्ने भएको छ । प्रदेश दिवसको अवसर पारेर फागुन ४ गते सरकारले उक्त घोषणा गरेको हो ।

सरकारले विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तिहरुलाई प्रदेश सरकारद्वारा विशिष्ट व्यक्ति सम्मान प्रदान गर्ने गरी कार्यविधि बनेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ ,नाङ्नीमा पिता कृष्ण पुन र माता पुरित पुनको कोखबाट ५ माघ २०११ मा जन्मनुभएका पुनले विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाहमा महत्वपूर्ण योगदान गर्नुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्नुभएका पुनले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा लगायत क्षेत्रमा नयाँनयाँ कार्य गर्दै आउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख योगदान गर्ने व्यक्तित्वलाई ‘गण्डकी रत्न’ पुरस्कार प्रदान गर्ने कार्यविधि हालै पारित गरेको थियो । प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा उल्लेख्य योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यविधिमा उल्लेख छ ।

पुस २६ गते बसेको मन्त्रिपरिद् बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो । गण्डकी रत्न प्रदेशकै सर्वाधिक ठूलो हुने सरकारको भनाइ छ ।प्रदेशबाट विशिष्ट व्यक्ति छनोट गर्न सिफारिस समिति अध्यक्षमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको हो । समितिले बढीमा ३ जनालाई छनोट गर्ने भनेको थियो ।

विभूषित व्यक्ति सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम हुनेछ। यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ।

सम्मानित हुनेले चाँदीको लोगो पाउँछन्। उक्त लोगोमा ६.५ सेन्टिमिटरको ब्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा एघार जिल्लाको प्रतिकात्मक स्वरूप ११ ओटा कमलको पुष्पदल रहने छ।

दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ। तेस्रो तथा भित्री घेराभित्र नदी ‘गण्डकी’को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ।

झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ। यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ। यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार