प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई लिएर सत्ता गठबन्धनबीच तीव्र मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो । प्रधानमन्त्री देउवालाई भेट्ना राजदूत बेरी करिब ६ बजेतिर बालुवाटार पुग्नुभएको थियो । बुधबार दिनभर एमसीसीलाई लिएर देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) नै उत्रिएको अवस्थामा एमसीसीको पक्षमा कांग्रेस एक्लै परेको छ ।

यो अवस्थामा एमसीसी पास गराउने सम्भावित विकल्प र रणनीतिबारे राजदूत बेरीले प्रधानमन्त्रीसँग छलफल गरेको स्रोतले जनाएको छ । बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले राजदूत बेरीसँग सत्ता गठबन्धनमा आएको दरारदेखि यसका कारण निम्तिएको सडक प्रदर्शन र सहमति खोज्न दुई दिनको समय लिएको विषयमा कुरा गर्नुभएको छ ।

अमेरिकाले अब एमसीसीको समय बढाउन नसकिने गरी समयसीमा दिएकाले समयसीमामा पुनर्विचारको गञ्जयास छ कि छैन भन्ने विषयमा पनि देउवाले राजदूतसँग जिज्ञासा राखेको बालुवाटार स्रोतले जनाएको छ ।अमेरिकाले यही फेब्रुअरी २८ (फागुन १६)सम्म एमसीसी संसद्बाट पास नगरिएमा फिर्ता लैजाने र त्यसले दुई देशबीचको सम्बन्धमा पनि जटिलता आउन सक्ने चेतावनी पटक–पटक दिइसकेको छ ।

फेब्रुअरी २८ सम्म पास नभएमा आगामी मार्चमा बस्ने एमसीसीको बैठकले नेपाललाई दिन लागि लागिएको सहायता परियोजना फिर्ताको निर्णय लिने चेतावनी अमेरिकाले दिइसकेको छ । राजदूत बेरीसँगको भेटपछि बिहीबार बिहानै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच यो विषयमा बालुवाटारमा कुराकानी भएको छ । यो वार्तापछि दिउँसो ३ बजेका लागि बोलाइएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक साँझ ५ बजेका लागि सारिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार