आज सर्वोच्चको फुलकोर्ट

काठमाडौं । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णय भएका थियो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको मुख्य एजेण्डा नै न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सम्बन्धमा रहेका छ । ढकालले भन्नुभयो, ‘अहिलेको विषम परिस्थिति आएपछि न्यायापालिका सञ्चालन तथा न्यायालय शुद्धिकरणका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनको कार्यन्वयनका सन्दर्भमा छलफल नै हो । त्यसबाहेक अन्य कुनै एजेण्डा छैन ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेपछि सर्वोच्चमा वरिष्ठतम् न्यायाधीशका हैसियतले दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बन्नुभएके छ । उहाँले शुक्रबार सर्वोच्चको पूर्ण बैठक राखी आफ्नो सक्रियता देखाउन सुरुवात गर्न लाग्नुभएको छ । सर्वोच्चको पूर्ण बैठकलगत्तै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवा आयोग र न्याय परिषद्को बैठक राख्न परामर्श समेत गर्ने बताइएको छ ।

न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशन तथा आन्तरिक बढुवाका आधारमा नियुक्त गर्ने २३ सीटमा न्यायाधीश पठाउन सकिएको छैन ।त्यसैगरी परिषद्को बैठक बस्न नसक्दा विभिन्न उच्च अदालतहरुमा खाली न्यायाधीशको सिटमा सिफारिस तथा विशेष अदालतमा न्यायाधीश पठाउनसमेत सकिएको छैन । यसै विषयमा कामु प्रधानन्यायाधीशले परामर्श सुरु गर्नेसमेत जनाइएको छ ।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार