रुखबाट खसेर ज्यान गुमाएका पुनको परिवारलाई राहत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ७, विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ ।

बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थाम बहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा नगरपालिकाले काजक्रिया खर्च सहित ७ लाख २५ हजार राहत उपलब्ध गराउने सहमती भएको हो ।

सहमती अनुसार, मृतक पुनकी एक छोरीलाई उच्च शिक्षासम्म आवश्यक छात्रवृत्ति सहित निशुल्क पठनपाठनको सुविधा समेत नगरपालिकाले उपलब्ध गराउने बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । पिपलको रुखको हाँगा काट्ने क्रममा गत मंगलवार लडेर गम्भीर घाईते भएका पुनलाई उपचारको क्रममा बेनी अस्पतालमा मृत घोषित गरिएको थियो । मृतक पुनका परिवारलाई श्रम ऐन २०७४ दफा ५५ उपदफा ३ अनुसार नै क्षतिपूर्ती उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै मृतकको परिवारलाई बिरेन्द्रचोक टोल सुधार समितिले समेत थप ५० हजार नगद राहत दिने प्रतिबद्धता जनाएको जिफन्ट म्याग्दीका सचिव अर्जुन रानाले जानकारी दिनुभयो । मृतकको परिवारलाई क्षतिपुर्ती दिने निर्णय र एक सन्तानको शिक्षा दिक्षाको जिम्मा सरकारले लिनु स्वागतयोग्य कदम भएको सचिव रानाको भनाई छ । नगरपालिका उपमेर सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षद्धय राजेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण बराईली, मगर संघ म्याग्दीकी अध्यक्ष डमायाँ पाईजा मगर लगायतको उपस्थितीमा भएको दुईपक्षिय छलफलमा सहमती भएपछि मृतक पुनको सब बुझ्न आफन्त सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार