स्थानीय निर्वाचनमा गठबन्धन सम्भव छैन : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन नसक्ने बताउनुभएको छ। आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उहाँले बताउनुभयो ।

स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने उहाँको भनाइ छ । तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा कुनै छलफल नभएको उहाँको भनाइ छ । ‘स्थानीय निकायको निर्वाचन अलि ठुलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँटफाँट गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन,’ उहाँले भन्नुभयो ।

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको दोहोर्‍याउनुभयो । ‘स्थानीय आवश्यकतालाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर, समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन,’ उहाँले भन्नुभयो ।

महतले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई सहमतिमा लिएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपालसहितका १४ जना सांसद्को विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद् सुचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणसमेत राख्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार