तीन महिना बित्दा पनि भारतबाट आएन राजदूत सिफारिस शर्माको एग्रिमो

एजेन्सी । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आउन ढिलाइ भएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो।

गत साता अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उहाँ नियुक्त भइसक्नुभएको छ । भारतले भने अहिलेसम्म शर्माको एग्रिमो पठाएको छैन। पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले कहिलेसम्म एग्रिमो आउनुपर्छ भन्ने समय नतोकिएको भए पनि डेढ–दुई महिनामा एग्रिमो आइसक्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको बताउनुभयो।

‘उहिले कुन देशबाट को राजदूत आउन लागेको छ भन्ने सम्बन्धित देशलाई थाहा हुँदैनथ्यो। त्यही भएर आफ्नो देशमा राजदूत भएर आउन लागेको व्यक्तिबारे उनीहरूले बुझ्ने गर्थे। डेढ-दुई महिना लाग्थ्यो,’ भट्टराईले भने,‘अहिले त राजदूत सिफारिसदेखि संसदीय सुनुवाइसम्म मिडियामा छ्यापछ्याप्ती समाचार आउँछ। आफ्नो देशमा राजदूत हुने व्यक्तिबारे उनीहरूलाई पहिले नै थाहा भइसक्छ। अहिले त डेढ–दुई महिना पनि लाग्नु नपर्ने हो।’

कहिलेकाहीँ मुलुकको आन्तरिक कारणले एग्रिमो आउन ढिलाइ हुनु स्वभाविक भएको भट्टराईले बताए।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोटामा नियुक्त भएका सबै राजदूत फिर्ता बोलाइएको थियो।भारतका लागि तत्कालीन नेपाली राजदूत निलाम्बर आचार्य फिर्ता भएपछि गत असोजदेखि दिल्लीमा राजदूत खाली छ।

१० वर्षअघि राजदूत सिफारिस भएका माओवादी नेता राम कार्कीको एग्रिमो भारतले पठाएको थिएन। एग्रिमो नआएपछि उनी राजदूत हुन पाएनन्।परराष्ट्र मन्त्रालयले एकरदुई दिनमै शर्माको एग्रिमो आउने बताएको छ।कोरोनाको तेस्रो लहर र भारतका विभिन्न राज्यहरूमा भएको चुनावका कारण शर्माको एग्रिमो स्वीकृत हुन समय लागेको भारतीय पक्षले बताएको छ।त्यस्तो अरू केही कारण छैन। चुनाव र कोभिडले ढिला भएको भन्नुभएको छ,’ नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार