वर्षमा एकपटक मृगौला परीक्षण गर्न मन्त्री लामाको आग्रह

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वार्षिक रुपमा एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गर्नुभएको छ । उहाँले हरेक वर्ष मार्च १० मा मनाइँदै आएको विश्व मृगौला दिवसको अवसरमा बिहीबार एक स्वास्थ्य सन्देश जारी गर्दै नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षको एकपटक मृगौलाको परीक्षण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले मृगौलाको स्वास्थ्य अवस्थाको जाँच गरेर मृगौलासम्बन्धी समस्या वा रोग लागेमा उपचार गर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले स्वास्थ्य सन्देश मार्फत भन्नुभएको छ– ‘कोनिक मृगौला रोग समान्यतया घातक हुन्छ । विश्वमा प्रत्येक १० व्यक्ति यस रोगले ग्रसित भएको पाइएको छ । समयमै यसको उपचार नगरेमा यो घातक हुन्छ ।

प्रारम्भिक अवस्थामा यस रोग लाग्नबाट बचाउन साधारणतया हुने व्यवस्थापनबाट बिरामीलाई निको पार्न सकिन्छ भने घातक हुनबाट बचाउन सकिन्छ ।’उहाँले विश्व मृगौला दिवस ‘सबैका लागि मृगौला स्वास्थ्य’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मृगौलाको स्वास्थ्यबारे सचेत रहन पनि आग्रह गर्नुभएको छ । नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको उहाँले जारी गरेको स्वास्थ्य सन्देशमा उल्लेख छ ।

‘खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मृगौला रोगी बढिरहेका छन् । नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने क्रम जारी छ ।मृगौलाको समस्याबाट जोगिन प्रशस्त पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाइ अनुसारको वजन व्यवस्थापन गर्न चिकित्सकको सुझाव छ ।

हाम्रो समाजमा मृगौला रोगको आधारभूत तथा उपयुक्त सूचना नलिने गरेको, मृगौला स्वास्थ्य शिक्षा र जनचेतना नहुनु तथा मृगौला स्वास्थ्य शिक्षा हासिल गर्न तत्परता नरहेको अवस्थामा छ । यही कारणले मृगौला रोग बढ्दो अवस्था रहेको र घातक समेत हुने गरेको छ’, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । बागमती प्रदेशका जनताको मृगौला सम्बन्धी समस्यको समाधान र परीक्षणका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गरेर जनताको मृगौला परीक्षण कार्य भइरहेको छ ।

‘बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मृगौला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत मृगौला परीक्षण गर्ने गरेको छ ।रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हने भएकोले वर्षमा एकपटक मृगौला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न हुन मृगौला दिवसको अवसरमा सबैमा अनुरोध गर्दछु,’ उहाँको स्वास्थ्य सन्देशमा भनिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार