नेतृत्वले आफ्ना मान्छे छान्दा समग्र पार्टीलाई असर पर्‍यो : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनुभएको छ । मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले हरेक निर्वाचनमा चाप्लुसी गर्ने व्यक्तिहरुले उम्मेदवारी पाउने गरेकोप्रति लक्षित गर्दै आफ्ना मान्छेहरूलाई स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताउनुभयो । नेता सिंहले नेपाली काँग्रेसले स्थानीय तहका लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा राख्नुभयो। नेता सिंहले भन्नुभयो, ‘वैशाख ३० गते स्थानीय निर्वाचनको डेट फिक्स भइसकेको छ । अहिले नेपाली काँग्रेस पार्टीको संगठन नै देशव्यापी रुपमा ६ हजार ७४३ वटा वडा समितिदेखि लिएर ७५३ वटा पालिकाहरुमा फोकसिङ गरेर राष्ट्रिय अभियान शुरु भइसकेको छ ।

‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने अभियान शुरु भइसकेको छ । यसमा पार्टीका सबै नेता कार्यकर्ताले यस पटक आउने स्थानीय निर्वाचन संघीयतालाई कार्यान्वयनमा लैजानका लागि र संघीय, प्रान्तीय सरकार र स्थानीय सरकारको महत्व हो जनतासमक्ष पुर्याउनका लागि यो महत्वपूर्ण निर्वाचन हुन गइरहेकोले यसमा काँग्रेसले उम्मेदवार सेलेक्शन गर्दा पार्टीको विधान, नियमावलीको बाटो देखाएको छ ।’

उहाँले भन्नुभयो, ‘वडा वडाबाट, टोल टोलबाट वडालाई उम्मेदवार छान्दा काँग्रेसी सबैले विधानले भनेका कुराहरुलाई पालना सबैले गर्नुपर्छ । सिफारिस गर्दा एक महिलासहित ३ जना सम्भावित उम्मेदवारहरूलाई सिफारिस गर्नुपर्छ । काँग्रेसमा देखापरेको कस्तो हो भने कोही सबैको प्रियपात्र हुन खोज्ने, विधि विधानअनुसार पालना नगराउने भन्ने तीन जनाको सिफारिस १५र२० जना पठाएपछि कहाँबाट राम्रोसँग हुन्छ ।

त्यसकारण पार्टीको विधानले जे भनेको छ, सिफारिस गर्ने कमिटीले १ महिलासहित तीन, सर्वसम्मत भए सर्वसम्मतबाट नभए तीन जनाको नाम सिफारिस गर्ने, समितिहरु, इकाईहरु त्यसमा केन्द्रीत भयो भने राम्रो हुन्छ । अर्को कुरा उम्मेदवार हुनका लागि पहिला संगठनमा काम गरेको हुनुपर्छ । वर्कसहरुले चिनेको हुनुपर्छ । चुनावमा जाँदा पनि पब्लिकसँग जुन वडामा उठ्ने हो त्यो वडामा भिजेको मान्छे त हुनुपर्यो नि ।

यो खाली विधि प्रक्रिया पूरा गरेर पब्लिकले नचिनेको मान्छे परेमा गाह्रो हुन्छ पार्टीलाई ।’ त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले नेपाली काँग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महशुस गरेको बताउनुभयो । उहाँले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताउनुभयो ।

अध्यक्ष सिंहले भन्नुभयो, ‘म संलग्न पार्टीको सरकार बनेपछि निर्माण व्यवसायीहरुले ठूलो राहत महशुस गरेको छ । निर्माण व्यवसायीहरुको हकहितका लागि हामी लडिरहनेछौँ । सिमित निर्माण व्यवसायीहरुको हातमा मुलुकको निर्माणको बाटो गएको छ, त्यसबाट धेरै वटा विकृतिहरु भित्रिएका छन् । त्यसलाई न्युन गर्ने काममा ११ औँ संशोधनले गर्नेछ । त्यसलाई कार्यान्वयन गराउने मेरो प्रमुख जिम्मेवारी हो ।’अध्यक्ष सिंहले गत कार्यकालमा भन्दा नयाँ कार्यकालमा आफूले निर्माणका काममा गरेको अठोटलाई पूरा गर्ने बताउनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार