अख्तियारमा स्थानीय तहका उजुरी धेरै

राँझा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन्। बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरू रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्रअन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन्। तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन्।

कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन्। तीमध्ये ६८ उजुरी फर्छ्यौट भएका छन् भने अझै ६५ उजुरी फर्छ्यौट हुन बाँकी छन्। जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्नेरनगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार