काठमाडौं । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शर्माको एग्रिमो मंगलबार परराष्ट्र मन्त्रालयमा आइपुगेको हो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। केही दिनअघि अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उहाँ नियुक्त भइसक्नुभएको छ ।
भारतले भने एग्रिमो पठाउन तीन महिना बढी समय लगाएको हो।सामान्यत: डेढ–दुई महिनामा एग्रिमो पठाउने अन्तर्राष्ट्रिय प्रचलन छ तर कहिलेसम्म एग्रिमो आउनुपर्छ भन्ने समय तोकिएको छैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक कोटामा नियुक्त भएका सबै राजदूत फिर्ता बोलाइएको थियो ।
भारतका लागि तत्कालीन नेपाली राजदूत निलाम्बर आचार्य फिर्ता भएपछि गत असोजदेखि दिल्लीमा राजदूत खाली छ । कोरोनाको तेस्रो लहर र भारतका विभिन्न राज्यहरूमा भएको चुनावका कारण शर्माको एग्रिमो स्वीकृत हुन समय लागेको भारतीय पक्षले बताएको थियो । शर्माको एग्रिमो आएसँगै अब उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नुहुनेछ । सेतोपाटीबाट