महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियो भएकाले महोत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उहाँले दाबी गर्नुभएको छ ।
क्षेत्र नम्बर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले बाहिर सार्वजनिक भए जस्तो महोत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गर्नुभयो ।जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनको टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताउनुभयो । ‘कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ,’ उहाँले भन्नुभयो ।
उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।पार्टीले गठबन्धनको विषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेको भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताउनुभयो । नागरिक खबरबाट