काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चुनौतीपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्री शर्माले अहिले आयातमा निकै वृद्धि भएको अन्तर्राष्ट्रिय क्षेत्रको हरेक वस्तुमा मूल्यवृद्धि हुनुले बैंकिङ र व्यवसायिक क्षेत्रमा असर परेको धारणा राख्नुभयो । उहाँले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रुपमा क्षेत्रहरु निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।आयात प्रतिस्थापनका लागि उत्पादनमा सरकारले विशेष जोड दिएको उहाँको भनाइ छ । उहाँले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले निजी क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यले नै बजेट तयार गरिएको बताउनुभयो ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने विषय राष्ट्रिय रोग नै रहेको भन्दै यसका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न नसकेको भन्दै यस क्षेत्रमा लगाइएको सबै प्रकारका बन्देजहरु हटाइदिनुपर्ने धारणा राख्नुभयो।कार्यक्रममा २५ वर्ष निरन्तर संघको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाईसमेत सम्मान गरिएको थियो । नागरिक खबरबाट