धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीप्रति धरातलमा वितृष्णा रहेको बताउनुभएको छ । केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो।

‘केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन,’ पार्टीमा युवाहरूलाई प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आज भन्नुभयो, ‘धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ, एमालेप्रति भ्रम टुटेको छ।’उहाँले एमालेबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरू आफूहरूको पार्टीमा प्रवेश गरिरहेको पनि बताउनुभएको थियो । ‘जनताको विश्वास हामीले जित्नुपर्ने छ, जनताको विश्वास जित्ने कुरामा चुक्न हुन्न,’ उहाँले भन्नुभयो, ‘आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ।’

केही जिल्लाबाट त्यहाँका नेताहरूले पार्टी एक्लै पनि चुनावमा जान सक्ने बताइरहे पनि सहकार्य गर्न चाहनेलाई सँगै लिएर जाने उहाँले बताउनुभयो।‘हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौं। विभिन्न जिल्लाबाट नेताहरूले एक्लै पनि चुनावमा जान सकिन्छ भनिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी सहकार्य गर्न चाहनेलाई हातमा हात मिलाएर चुनावमा जान चाहन्छौं।’उहाँले पैसा, दम्भ र अहंकारलाई पराजित गर्नुपर्ने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार